शान्ति कायम राख्न दुर्गा प्रसाईँलाई प्रधानमन्त्री कार्कीको आग्रह

 0  9
शान्ति कायम राख्न दुर्गा प्रसाईँलाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं, १५ पुस ।  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेटवार्ता गरेकी छन् ।

आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपील गरेकी थिइन्। मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।

‘धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौँ, सम्बद्ध सबै पक्षको साथ सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिएका छौँ,’ उनले भनिन्, ‘सबै किसिमका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ र सक्रिय रुपमा सहभागी भई निर्वाचनलाई सफल बनाऔँ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow