ग्यास आपूर्तिसम्बन्धी समस्या भए निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न सकिने

 0  9
ग्यास आपूर्तिसम्बन्धी समस्या भए निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौं, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएपछि नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।

ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित बनाइएको  ‘क्विक रेस्पोन्स टिम’ ले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ। क्यूआरटीमा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उधोगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।

उपभोक्ताले ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्यूआरटीले तत्काल आवश्यक पहल गरी समाधान प्रक्रिया अगाडि बढाउने निगमले जनाएको छ।

पछिल्लो समय बजारमा ग्यास अभाव भएर उपभोक्ता कामकाज छोडेर ग्यासको लाइन लाग्न बाध्य भएका छन् । यही समस्या सम्बोधन गर्न यो संयन्त्र क्रियाशील बनाइएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow