४० करोड तीर्थयात्रीका लागि भारत तयार

 0  39
४० करोड तीर्थयात्रीका लागि भारत तयार

११  पुस, २०८१ । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ । यो इतिहासको सबैभन्दा ठुलो भेला हो ।

छ हप्ता लामो कुम्भ मेलाका क्रममा संयुक्त राज्य अमेरिका र क्यानाडाको संयुक्त जनसङ्ख्याभन्दा बढी ४० करोड तीर्थयात्रीका लागि भारतीय अधिकारीहरूले तयारी गरिरहेका बेला प्रयागराजका नदीहरूमा पन्टुन पुलहरूको लाइन पछि लाइन फैलिएको छ ।

पवित्र गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गम स्थलमा प्रत्येक १२ वर्षमा एक पटक धार्मिक श्रद्धा र अनुष्ठान स्नानको सहस्राब्दी पुरानो पवित्र कार्यक्रम आयोजना गरिन्छ ।

 जनवरी १३ देखि फेब्रुअरी २६ सम्मको यो संस्करण एक मेगा आकर्षण हुने अपेक्षा गरिएको छ ।उत्तरी राज्य उत्तर प्रदेशको पहिले इलाहाबाद भनिने प्रयागराजको बाढी मैदानमा म्यानहट्टनको दुई तिहाइ क्षेत्रफल बराबरको विशाल तम्बु (पाल) सहर निर्माण भइरहेको छ । 

कुम्भका लागि तयारी गर्नु भनेको नयाँ देश स्थापना गर्नु जस्तै हो । यसमा सडक, प्रकाश, आवास र ढलको आवश्यकता पर्छ । करिब एक लाख ५० हजार शौचालय निर्माण गरिएका छन्, ६८ हजार एलइडी बत्तीका खम्बाहरू खडा गरिएका छन् र सामुदायिक भान्छाहरूले एकै समयमा ५० हजार मानिसलाई खाना दिन सक्छन् ।

धार्मिक तयारीका साथसाथै प्रयागराजले ठुलो पूर्वाधार सुधार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको विशाल पोस्टरहरूले सहर ढाकेका छन् । दुवै सत्ताधारी हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी भाजपा का हुनुहुन्छ । उहाँहरूको राजनीति र धर्म गहिरो रूपमा जोडिएको छ ।

 कुम्भ मेला एउटा प्राचीन उत्सव हो । यसको उत्पत्ति हिन्दू पौराणिक कथाहरूमा निहित छ । नदीहरूको सङ्गममा डुबुल्की लगाउनाले आफ्ना पापहरू पखालिने र ‘मोक्ष’ प्राप्त गर्न मद्दत गर्ने हिन्दूहरू विश्वास गर्छन् । यसले उनीहरूलाई जन्म र मृत्युको चक्रबाट मुक्त गर्नेछ ।

पौराणिक कथाहरूअनुसार अमरत्वको अमृत भएको घडा वा ‘कुम्भ’ लाई लिएर देवताहरू र राक्षसहरूले युद्ध गरे । युद्धको क्रममा चार थोपा अमृत पृथ्वीमा खस्यो । एक थोपा प्रयागराजमा खस्यो ।

अन्य थोपा हरिद्वार, नासिक र उज्जैनमा खसेका थिए । यी तीन सहरमा घुम्ती कुम्भ मेला अन्य वर्षहरूमा आयोजना गरिन्छ । तर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजित मेला सबैभन्दा ठूलो हो । आयोजक अधिकारीहरूले यसलाई महान् वा ‘महाकुम्भ’ मेला भनिरहेका छन् ।अधिकारीहरूका अनुसार सन् २०१९ मा प्रयागराजमा भएको अन्तिम कुम्भ मेलामा २४ करोड भक्तजन देखिएका थिए । 

केही तीर्थयात्री पहिल्यै आइपुगेका छन् । यिनीहरूमा नागा साधुहरू छन् । यी घुमन्ते साधु दुर्गम पहाड र जङ्गलबाट हप्तौँसम्म हिँडेर आएका छन् । यिनीहरू प्रायः ध्यानमा समर्पित हुन्छन् ।

यिनीहरूले जनवरी १३ मा पहिलो दिनदेखि सुरु हुने छवटा सबैभन्दा शुभ स्नान मितिमा बिहानै चिसो नदीको पानीमा जाने नेतृत्व गर्नेछन् ।

“म जनतालाई आशीर्वाद दिन यहाँ आएको छु”, जटा बाँधेर नाङ्गै बसेका ९० वर्षीय नागा साधु दिगम्बर रमेश गिरीले भन्नुभयो, “तपाईंले आफ्नो हृदयमा जे चाहना गर्नुहुन्छ त्यो कुम्भमा प्राप्त गर्नुहुन्छ ।” रासस/एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow