निर्वाचन प्रचारका लागि उम्मेदवारको बैंक खाता अनिवार्य, २५ हजारभन्दा बढी नगद लिन नपाइने
काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
राजनीतिक दल तथा उम्मेदवारलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन बैंक खाता अनिवार्य गरिएको आयोगले जनाएको छ । आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तिब्रता दिँदै निर्वाचन खर्च र महिला सुरक्षाका विषयमा नयाँ मापदण्डहरू सार्वजनिक गरेको हो।
आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गर्दै सबै उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनै पनि आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंकमार्फत नै गर्नुपर्नेछ। साथै २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने, नेपाली नागरिक वा संगठित संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई निर्वाचन प्रचारप्रसारका लागि खोलिएको खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण र बिल भरपाई राख्नुपर्ने र तोकिएको ढाँचा र समयभित्र निर्वाचन कार्यालयहरू र निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।’
नेपाली नागरिक वा संगठित संस्थाबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन रसिदको व्यवस्था गरिएको छ। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार निर्वाचन आचारसंहिताको दफा १६ ले निर्दिष्ट गरे बमोजिम खर्चको विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्नेछ।
What's Your Reaction?





