नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अपिल: कर नीति सुधारका लागि एकजुट भै पहल गर्न आवश्यक
काठमाडौं | गत वर्ष लामो समयसम्म सुनचाँदी व्यवसायीहरूले विलासिता कर र १३ प्रतिशत भ्याटको विरोधमा आन्दोलन गरे पनि मुख्य समस्या समाधान हुन सकेन। सरकारले बहुमूल्य धातुमा २ प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको गुनासो छ।
व्यवसायीहरूका अनुसार उक्त करका कारण बजारमा कारोबार घट्नुका साथै उपभोक्तामा समेत नकारात्मक प्रभाव परेको छ। यद्यपि, आन्दोलनका बाबजुद महासंघ तथा सम्बन्धित संघ–संस्थाहरूको अपेक्षाअनुसार प्रभावकारी भूमिका देखिन नसक्दा कर खारेज वा संशोधन हुन नसकेको भन्दै व्यवसायीहरूमा असन्तुष्टि व्यापक बनेको छ।
यसैबीच, जेनजी आन्दोलनपछिको राजनीतिक परिवेशमा नेपालमा नयाँ सरकार गठन भएको छ। करिब दुई तिहाइ नजिकको जनमत र बौद्धिक वर्गको समर्थन रहेको वर्तमान सरकारले नीति सुधार गर्ने सम्भावना रहेको विश्वास महासंघले व्यक्त गरेको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा कार्यक्रम तहमा छलफल सुरु भइसकेको अवस्थामा अहिले नै पहल गर्नुपर्ने उपयुक्त समय भएको महासंघको धारणा छ। यही सन्दर्भमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यस क्षेत्रका समस्या तथा समाधानका उपायहरू समेटिएको विस्तृत लिखित प्रस्ताव (प्रतिवेदन) तयार गरी वितरणसमेत गरिसकेको जनाएको छ।
महासंघका अनुसार उक्त प्रतिवेदनको मुख्य उद्देश्य सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको एकीकृत धारणा निर्माण गर्दै सरकारसमक्ष स्पष्ट रूपमा माग प्रस्तुत गर्नु हो। साथै, प्रतिवेदनलाई कार्यान्वयनमा लैजानु र आगामी बजेटमार्फत कर नीतिमा आवश्यक संशोधन गराउन दबाब सिर्जना गर्नु पनि यसको प्रमुख लक्ष्य रहेको छ।
यसका लागि महासंघले देशभरका सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा प्रदेश र जिल्ला स्तरका समितिहरूलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ। प्रत्येक व्यवसायी तथा संस्थाले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरूलाई उक्त प्रतिवेदन बुझाई नीतिगत सुधारका लागि दबाब सिर्जना गर्नुपर्ने महासंघको जोड छ।
महासंघका अनुसार यसरी सामूहिक रूपमा पहल गरिएमा राष्ट्रिय स्तरमै प्रभावकारी दबाब सिर्जना भई सरकारलाई कर नीति संशोधन गर्न बाध्य पार्न सकिने विश्वास गरिएको छ।
महासंघले विशेष रूपमा अहिले नै सक्रिय हुनुपर्ने कारण पनि स्पष्ट पारेको छ। बजेट निर्माण प्रक्रिया सुरु भइसकेको, नीति निर्माणको प्रारम्भिक चरणमा प्रभाव पार्न सहज हुने र ढिलाइ भएमा मागहरू सम्बोधन नहुन सक्ने भएकाले यो समय सबैभन्दा महत्वपूर्ण अवसर भएको उल्लेख गरिएको छ।
त्यसैले, सम्पूर्ण सुनचाँदी व्यवसायी, सम्बद्ध संघ–संस्था तथा सरोकारवालाहरूलाई एकजुट भई तत्काल पहल गर्न महासंघले अपिल गरेको छ।
What's Your Reaction?





