ललितपुरको गोदावरीमा राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको एकदिने कार्यशाला गोष्ठी सम्पन्न
१३ चैत्र ,ललितपुर, गोदावरी — राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको आयोजनामा ललितपुरको गोदावरीस्थित होटल गोदावरीमा १२ चैत्र शनिवार एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका विभिन्न समितिहरूको गठन तथा सदस्यहरूको रिपोर्टिङ रहेको थियो।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक एवं अध्यक्ष गणेश लकान्द्रीले संस्थाले विभिन्न चरणहरू पार गर्दै अघि बढेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू संस्थाको दीर्घकालीन जीवन र सुदृढीकरणका लागि अत्यन्त आवश्यक रहेको बताए। उनले सङ्गठनको मजबुतीका लागि निरन्तर सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।
त्यसैगरी निवर्तमान अध्यक्ष डम्बर बराइलीले संस्था विगतमा चरम सङ्कटबाट गुज्रिएको भए पनि अहिले सही मार्गमा अघि बढिरहेको बताए। उनले वर्तमान नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संस्थाले अझ मजबुत रूपमा अघि बढ्ने अपेक्षा गरे।
कार्यक्रमअन्तर्गत पूर्ण दोस्रो बैठक समेत सम्पन्न भएको थियो। सो अवसरमा संस्थाका कोषाध्यक्ष किशोर सेन्चुरीले संस्थाको वर्तमान आर्थिक अवस्था तथा भावी योजनाबारे विस्तृत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो।
त्यसैगरी विभिन्न समितिको कार्यविधि २०८३ अध्यक्ष खेम तिरुवाले प्रस्तुत गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको थियो। कार्यक्रममा सङ्गठन सम्बन्धी विषयमा हेम राईले प्रशिक्षण प्रदान गरेका थिए भने नेतृत्व विकास सम्बन्धी तालिम शङ्कर प्रधानले दिएका थिए।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खेम तिरुवाले गरेका थिए भने सञ्चालन महासचिव हेम राईले गरेका थिए। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
What's Your Reaction?





