रिटर्नी अभियन्ता हरि खत्रीको निधन

काठमाडौं, १ भदौ । रिटर्नी अभियन्ता एवम् रिटर्नी फेडेरेशन नेपालका संस्थापक केन्द्रिय सदस्य हरि खत्रीको उपचारको क्रममा हिजो भाद्र ३१ गते शनिबार निधन भएको छ । दोलखा स्थायी घर भएका खत्री केही वर्ष यता दुवै मृगौला फेल भएर काठमाडौंको वीर अस्पतालमा डायलासिस गराउँदै आएका थिए ।
खत्री काठमाडौंको मूलपानीमा जग्गा भाडामा लिएर खेतीपाती गर्दै सोही भाडाको जग्गामा कटेरो बनाइ एक नाबालक छोरा र श्रीमती सहित बस्दै आएका थिए ।
परिवारको आम्दानीको स्रोत स्वयं खत्री रहदा, बिरामी पश्चात खत्रीको अन्य आय स्रोत नहुँदा उनको आर्थिक अवस्था नाजुक बनेको थियो । केही समय अगाडि मात्रै रिटर्नी फेडेरेशन नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर निज खत्रीलाई आर्थिक सहयोग पनि गरेको थियो ।
जिन्दगीको अन्तिम चरणमा आर्थिक समस्याबाट गुज्रिरहेका खत्रीका बारेमा रिटर्नी फेडेरेसनका सचिव ज्ञानु खवास आफ्नो फेसबुक पेजमा आक्रोश पोख्छन् - परिवर्तनको लागि लड्यो एमालेको सङ्गठित सदस्य भएर, दशकौँ खाडीको घाम खाएर मजदुरी गर्यो परिवारको लागि, समाज परिवर्तन गर्छु भनेर लाग्यो, तर आज आफै अकालमै मर्नु पर्यो मृगौला फेर्ने पैसा नभएर ? हामीले कति रोई कराई गरेउ न राज्यले सुन्यो,न समाजले सुने !!
त्यस्तै रिटर्नी फेडेरेशन नेपालका निवर्तमान अध्यक्ष उत्तम अधिकारी दिवगंत हुनु भएका खत्रीप्रति श्रद्धाञ्जली दिदैँ लेख्छन्, 'अत्यन्तै पीडादायी खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । रिटर्नी अभियानमा सुरुवाती अवस्थामा सशक्त ढङ्गले लागिपर्नु भएका साथी हरि खत्रीको असामयिक मृत्युप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना । हरि सर,यो दुनियाँ भन्दा अन्त कतै अर्को कुनै दुनियाँ हुने रहेछ भने तपाईंलाई सबै खुशी मिलोस् ।'
रिटर्नी फेडेरेशनका अध्यक्ष बिनोद भट्टराईले सिङ्गो फेडेरेसनको तर्फबाट समवेदना जारी गर्दै भनेका छन्, 'रिटर्नी फेडेरेसन नेपालका संस्थापक केन्द्रीय सदस्य हरि खत्रीको देहवासनले मर्माहित बनायो । हरि खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना ।
What's Your Reaction?






