विदेशबाट आउने भन्दा धेरै रेमिट्यान्स नेपालबाट भारत गइरहेको छ - महासचिव शङ्कर पोखरेल
विदेशबाट आउने भन्दा धेरै रेमिट्यान्स नेपालबाट भारत गइरहेको छ -महासचिव शङ्कर पोखरेल

काठमाडौं, १८ साउन । रिटर्नी फेडरेसन नेपालको विशेष पहलमा स्थापित नवयुग इन्भेष्टमेन्ट पब्लिक कम्पनीको कार्यशाला गत १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यशालामा व्यावसायिक तथा वित्तीय योजना तय गर्न विभिन्न चरणमा छलफल गरिएको थियो ।प्रमुख अतिथि नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले - जोखिम मोल्ने क्षमता बनाएर मात्र व्यवसायमा लाग्दा सफल भइने बताए । म बनाउँछु मेरो देश भन्ने भावना नागरिकमा जागृत हुनुपर्ने भन्दै अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने हाम्रो बानीले राज्य कमजोर बन्दै गएको, देशमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली रहेको बताए । विदेशबाट नेपाल घुम्न आउने पर्यटक भन्दा नेपालबाट विदेश घुम्न जाने नेपालीले बढी खर्च गर्छन् भन्दै पोखरेलले भने – हाम्रो देश मात्रै गरिब भएको हो, नागरिक गरिब छैनन् । हामीले सही कुरा बुझ्न र बुझाउन सकेका छैनौ, प्रकृतिलाई उपेक्षा गरेका छौ , देशमा श्रमिकको अभावमा विदेशबाट आउने भन्दा धेरै रेमिट्यान्स नेपालबाट भारत गइरहेको जानकारी गराए ।
उद्योगमन्त्री दामोदर भण्डारीले विदेशबाट प्राप्त ज्ञान, पुँजी, सीप, अनुभव र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्न सके देशको अर्थतन्त्रले गतिलिने साथै नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका इन्चार्ज डा. कृष्ण बहादुर केसीले चीनले विभिन्न वस्तुमा भन्सार छुट लगायतका सुविधा दिँदा पनि त्यसबाट नेपालीले फाइदा लिन नसकेको गुनासो गरे ।
त्यसैगरी रिटर्नी फेडरेशनका अध्यक्ष विनोद प्रसाद भट्टराईले रिटर्नी फेडेरेसनको अवधारणा, स्थापना, उद्देश्य र अवस्थाबारे जानकारी गराउँदै छरिएको पुँजीलाई एकीकृत गरी सामूहिक लगानीको अवधारणा बमोजिम नवयुग इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिए ।
कम्पनीले आगामी पाँच वर्षमा २५ अर्ब रुपियाँ पुँजी सङ्कलन गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष घनश्याम पाण्डेले जानकारी गराए । नवयुग इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक शालिकराम बसेलको स्वागत मन्तव्य बाट सुरुभएको सो कार्यशाला नेपाल हाउस कमलादी काठमाडौँमा सम्पन भएको हो |
What's Your Reaction?






