संविधानको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको छ : प्रचण्ड
काठमाडौं, २९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको बताएका छन् ।
बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै प्रचण्डले गत भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताए ।
यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो। उनले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताए।
संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताए । ‘२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ । यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,’ उनले भने ।
युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह पनि गरे । ‘साँढेको जुधाई, बाच्छाको मिचाई नहोस् भन्ने चिन्ता हामीमा छ,’ उनले भने ।
What's Your Reaction?





