सभापतिबाट राजीनामा दिएका गगनको राजीनामा अस्वीकृत गर्ने तयारीमा विश्वप्रकाश
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गर्दै लेखेका छन्, ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो ।’
थापाले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गरेका छन् ।
गगनले राजीनामा दिए पनि उपसभापति शर्माले चैत ६ गते शुक्रबार डाकिएको केन्द्रीय कार्यसमितिको बैठकमा उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताइएको छ ।
शुक्रबारको बैठकमा गगन थापा सहभागी नहुने भएपछि बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्ने तयारी रहेको छ ।
What's Your Reaction?





