देउवा पक्षबाट सभापति बन्न ३० हजार शुल्क तिर्नुपर्ने, अन्यमा कति ?

 0  9
देउवा पक्षबाट सभापति बन्न ३० हजार शुल्क तिर्नुपर्ने, अन्यमा कति ?

काठमाडौं, १२ असोज । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गर्दै सभापतिको उम्मेदवारका लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ।

डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले जारी गरेको निर्देशिकमा सभापतिको उम्मेदवारका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ शुल्क तय गरेको छ।

त्यस्तै सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यका लागि १० हजार, प्रतिनिधिसभाको महाधिवेशन प्रतिनिधिका लागि दुई हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्यको उम्मेदवारका लागि तीन हजार रुपैयाँ शुल्क तोकिएको छ। 

१५औँ महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले तयार गर्न लागेको ‘१५ औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा उक्त व्यवस्था गरिएको छ । निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

असोज १५ गतेबाट सुरू हुने भनिएको वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि छनोट गर्दा एक महिला र एक पुरूष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा थप गर्ने र कम्तीमा ४० वर्षमुनिका युवा एक महिलासहित कम्तीमा दुई जना अनिवार्य क्षेत्रीय प्रतिनिधिमा समावेश गरिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दै असोज २० मा गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरेको छ । यसैगरी, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय अधिवेशन गर्ने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow