आज राति खग्रास चन्द्रग्रहण लाग्दै, ग्रहणका बेला के गर्ने ? के नगर्ने ?
काठमाडौं, २२ भदौ । आज भाद्र शुक्ल पूर्णिमामा राति खग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाली समय अनुसार आज राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यो खग्रास चन्द्रग्रहण आग्निकोण (दक्षिण पूर्व) तर्फबाट स्पर्श भई नैऋत्य (पश्चिम दक्षिण) दिशामा मोक्ष हुनेछ । ३ घण्टा ३० मिनेटको अवधिसम्म लाग्ने ग्रहण रातिको १० बजेर ११ मिनेटमा स्पर्श हुने, ११ बजेर ५६ मिनेटमा मध्य हुने र मध्यरात १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ ।
समितिका अनुसार आईतबार दिउँसो १: ११ बजेदेखि चन्द्र ग्रहणको सुतक समय सुरु हुनेछ । ग्रहणको समयमा भोजन पकाउन खान नहुने, भूमि खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्ण रुपले निषेध हुन्छ ।
ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कन नहुने, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेर मात्र घर बाहिर निस्कनु पर्दछ । ग्रहणकालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रमा बताइएको छ ।
What's Your Reaction?





