सस्तो सुनको प्रलोभन देखाएर ६० लाख लुट्ने गिरोह पक्राउ, प्रहरी हवल्दार नै संलग्न
काठमाडौं ।
सस्तो मूल्यमा बिलसहित सुन उपलब्ध गराइदिन्छु भन्ने झुटो आश्वासन दिई ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी हवल्दार समेत संलग्न रहेको खुलासा भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गिरोहले पीडितलाई काठमाडौं महानगरपालिका–१४ घ्याखेल क्षेत्रमा बोलाएर सस्तोमा सुन दिने योजना बनाएको थियो। सुन सस्तोमा पाउने लोभमा पीडित तोकिएको स्थानमा ६० लाख रुपैयाँ नगद बोकेर पुगेका थिए।
तर, त्यहाँ पुग्दा न त सुन थियो, न त कारोबार। बरु ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पारेर कुटपिट गर्यो र साथमा रहेको ६० लाख रुपैयाँ लुटेर फरार भयो।
अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार सो घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार माघ १४ गते कीर्तिपुरस्थित एबीगाडो क्याफेमा पीडितसँग भेटेर ‘हामी सीआईबीका प्रहरी हौं’ भन्दै डर त्रास देखाई लुटपाट गरिएको खुलेको छ।
पक्राउ परेका हवल्दार सुनार नवलपरासी कावासोती–१३ का
हुन्। घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्की का अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने गिरोहमा अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा पनि छानबिन जारी छ।
What's Your Reaction?





