हिमवतखण्ड कला साहित्य संस्कृति सम्मेलन हुने
काठमाडौं, १८ माघ । हिमवतखण्ड कला साहित्य संस्कृति सम्मिलन आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा सम्मेलन आयोजना हुने भएको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवतखण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२८१’ आयोजना गर्न लागिएको हो ।
डा. सुब्बाका अनुसार सम्मेलनमा मुलुकका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बंगाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल आदि), चीन, बंगलादेश, म्यानमार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हिमवतखण्ड, यसको महिमा र लोकसंस्कृति’का सम्बन्धमा, नेपालऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवतखण्डको सांस्कृतिक वैशिष्ट्य’का सम्बन्धमा र सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवतखण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’का बारेमा विशेष प्रवचन हुने छ । डा. सुब्बाले भने, “यसका साथै प्रा.डा. चुडामणि बन्धुद्वारा हिमवतखण्डमा नेपाली भाषाको अवस्था, डा. रमेश ढुंगेलद्वारा हिमवतखण्डको संस्कृति र विश्वव्यापीकरण एवम् डा. भेषराज अधिकारीद्वारा हिमवतखण्डको नेपाली खानपान संस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।”
विभिन्न जातजातिको लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकीसहित समुद्घाटन समारोह, प्राज्ञिक विमर्श, सांस्कृतिक प्रस्तुति, लोककला, वेशभूषा तथा लोबाजाहरूको प्रदर्शनी र कविता उत्सवलगायतका कार्यक्रम सम्मेलनमा समावेश गरिएको आयोजक सचिवालयका सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी गराए । उनले भने, “सम्मेलन तयारीका लागि मूल आयोजक समिति, सल्लाहकार समितिसहित विभिन्न उपसमितिहरू गठन गरिएको छ ।” यसअघि २०७५ सालमा भानुजयन्तीका अवसरमा हिमवतखण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो ।
सभ्यता एवम्् ज्ञानको आदिभूमिका रूपमा रहेको नेपाल हिमवतखण्डको केन्द्र स्थल मानिन्छ । हिमवतखण्डको नेपालमै सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको थियो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको थियो । हिमवतखण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास प्रभृत्ति महान् कविहरूको जन्म भयो । यहीँ नै मुनि नामका ऋषि र किरातहरूका ऋषि आकुनीले ख्याती कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवतखण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठभूमि मानिएको हो । यसै पावन भूमिमा गौतमबुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रसारित भएको हो ।
What's Your Reaction?





