३० वर्षपछि स्वदेश फर्किए दोलखाका आकाश भैरवका अमूल्य मुकुण्डो
काठमाडौं । तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकासम्म पुगेका आकाश भैरवका दुई ऐतिहासिक तथा बहुमूल्य सुनजडित मुकुण्डो अन्ततः स्वदेश फर्किएका छन्। करिब ३० वर्षको प्रतीक्षापछि यी सांस्कृतिक सम्पदाको नेपाल फिर्तीलाई सम्पदा संरक्षण अभियानको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित नाक्छेँ प्रधान परिवार गुठीबाट २०५० साल (मार्च १९९४) मा चोरी भएका यी मुकुण्डो १६औँ शताब्दीका मानिन्छन्। धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक महत्व बोकेका यी मुकुण्डो दोलखावासीका लागि मात्र नभई सम्पूर्ण नेपाली सम्पदाका अनुपम धरोहर हुन्।
चोरी भएपछि स्थानीय समुदायले प्रहरीमा उजुरी दिएका थिए। मुकुण्डोका पुराना तस्वीर र अभिलेख सुरक्षित राखिएकाले वर्षौंपछि तिनको पहिचान गर्न सहज भएको थियो।
अनुसन्धानका क्रममा चोरी भएका मुकुण्डो विभिन्न अन्तर्राष्ट्रिय कला बजार हुँदै अमेरिकाका प्रतिष्ठित संग्रहालयसम्म पुगेको खुलासा भएको थियो। एउटा मुकुण्डो Rubin Museum of Art र अर्को Dallas Museum of Art मा पुगेको भेटिएको थियो।
What's Your Reaction?





