अबदेखि बाढी आउने पूर्वसूचना दिन विभागले फोन गर्ने
काठमाडौं, ८ भाद्र । बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको जल तथा मौसम विज्ञान विभागले अबदेखि सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ।
विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका लागि ‘भ्वाइस कल’ सेवा मार्फत पूर्वसूचना सम्प्रेषण गर्ने तयारी थालेको हो। विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए।
‘मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ। तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ।’ उनले थपे, ‘एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छरु भन्ने विषयमा थप परीक्षण गर्दैछौँ । यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको छ।’ पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ।
‘पछिल्लो समय पूर्वसूचनाका कारण धनजनको क्षति न्यून भएको छ। पहिला–पहिला तराईमा बाढीका कारण बढी क्षति पुग्थ्यो। पूर्वसूचना प्रणाली पनि तराईका नदीमा जडान भएका छन्,’ पराजुलीले भने, ‘तर पहाड र हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली कम छन्। बाढीका घटना पहाड र हिमालमा पनि हुन थालेकाले अब ती क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक छ।’
What's Your Reaction?





