अब प्रहरीमा उजुरी गर्न लाइन होइन, मोबाइल काफी !
५ जेठ | काठमाडौं
नेपाल प्रहरीले प्रविधिमार्फत नागरिक सेवामा नयाँ अभ्यास सुरु गरेको छ। अब प्रहरीसम्बन्धी गुनासा, सुझाव वा उजुरी गर्न प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार “नेपाल पुलिस एप” सार्वजनिक गर्दै नागरिकले घरमै बसेर अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक Dan Bahadur Karki ले ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली’को औपचारिक शुभारम्भ गरेका हुन्।
प्रहरीका अनुसार एपमार्फत दर्ता भएका उजुरीको अवस्था पनि प्रयोगकर्ताले आफैं अनलाइनबाट ट्र्याक गर्न सक्नेछन्। आवश्यक परे थप प्रमाण माग्ने, विवरण बुझ्ने तथा उजुरीकर्तासँग प्रत्यक्ष च्याटमार्फत संवाद गर्ने सुविधा समेत प्रणालीमा राखिएको छ।
प्रहरी प्रशासनले यसलाई “डिजिटल प्रहरी सेवा” तर्फको ठूलो कदमका रूपमा व्याख्या गरेको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राही र प्रहरीबीचको दूरी घट्ने तथा गुनासो व्यवस्थापन अझ पारदर्शी बन्ने अपेक्षा गरिएको छ।
प्रहरीका अधिकारीहरूका अनुसार यो प्रणालीले विशेषगरी तत्काल जानकारी दिनुपर्ने घटना, दुर्व्यवहार, साइबर अपराध, ठगी तथा प्रहरी सेवासम्बन्धी गुनासो व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
नेपाल प्रहरीले आगामी दिनमा एपमा थप सेवा विस्तार गर्दै नागरिकमैत्री डिजिटल प्लेटफर्मको रूपमा विकास गर्ने तयारीसमेत गरेको जनाएको छ।
What's Your Reaction?





