अमेरिकाले किन गर्योे ‘डिभी लटरी’ योजना बन्द ?
राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ (डिभी) योजना तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छन् । सन् २०१७ मा डिभी मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते संलग्न रहेको ब्राउन युनिभर्सिटी गोलीकाण्डमा दुई जनाको ज्यान गएपछि अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको हो ।
घटनाका संदिग्ध भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार भालेन्तेले एमआईटीका प्राध्यापक नुनो लुरेइरोको समेत हत्या गरेको आशंका गरिएको छ, जसले अमेरिकी सुरक्षा संयन्त्रमा आप्रवासी भिसा प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले अब कुनै पनि अमेरिकीलाई हानी नहोस् भन्ने सुनिश्चित गर्न ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन् । डिभी कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका मुलुकका नागरिकहरूलाई चिठ्ठा प्रणालीमार्फत वार्षिक ५० हजार ग्रीन कार्ड उपलब्ध गराइँदै आएको थियो ।
विशेष गरी नेपालीहरू पनि डिभी कार्यक्रममार्फत अमेरिका जाने र स्थायी बसोबास गर्दै आएका छन् । सन् २०२७ का लागि आवेदन खुल्ने प्रक्रियामा भइरहेको ढिलाइ र यो पछिल्लो घोषणाले डिभी लटरीको भविष्य संकटमा परेको विश्लेषण गर्न थालिएको छ। अमेरिकी प्रशासनले हालका लागि यो योजना स्थगित गरे पनि यसको स्थायी खारेजी वा भविष्यको स्वरूपबारे थप स्पष्ट पारिसकेको छैन ।
What's Your Reaction?





