कार्की आयोगले निष्पक्ष रुपमा छानबिन गरेन : महासचिव पोखरेल

 0  17
कार्की आयोगले निष्पक्ष रुपमा छानबिन गरेन  : महासचिव पोखरेल

काठमाडौं, १२ चैत । एमाले महासचिव शंकर पोखरेलले निर्वाचन र जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको बताएका छन्।

महासचिव पोखरेलले जेनजी आन्दोलनका घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोग निष्पक्ष नरहेको कुरा उसकै प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा आयोगको प्रतिवेदनबारे लेख्दै पोखरेलले भनेका छन्, ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ। कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ। सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ। अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ। अबको बाटो सजिलो नहुन सक्छ, राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ। तर, पनि सत्य कुरा के हो भने–लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow