चुनावपछि कानुन व्यवसायमै फर्किन्छु : गृहमन्त्री अर्याल
काठमाडौं, २४ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको दायित्व फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव सम्पन्न गराउनु रहेकाले आफूले त्यसैमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले आफू कुनै पक्ष र विपक्षमा नलागेको उल्लेख गर्दै चुनाव सम्पन्न गराउनका लागि आफूले सक्दो प्रयास गरिरहेको बताएका हुन् ।
गृहमन्त्री अर्यालले कानुन व्यवसाय गर्दा आफू मानव अधिकारका पक्षमा लडेको दाबी गर्दै प्रतिनिधिसभाको चुनावपछि आफू कानुन व्यवसायमै फर्किने जानकारी दिए । उनले भने, ‘म पीडितका लागि न्याय खोजेर हिडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छु।’ मानव अधिकारका पक्षमा लड्दा आफू सडकमा रहेको र फेरि पनि सडकमै आएर नागरिक जस्तै पेशा गर्ने उनले बताए।
‘म कानुन व्यवसायी हुँ। कानुन व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो,’ अर्यालले भने, ‘म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न।’
What's Your Reaction?





