जेनजी आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारवाही सिफारिस गरेका छौँ : गौरीबहादुर कार्की
काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो। अध्यक्ष कार्कीले आफूहरूले इमानदारीका साथ काम गरेको र बिना पूर्वाग्रह देखेको कुरा मात्र प्रतिवेदनमा राखेको बताउँदै आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारवाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
अध्यक्ष कार्कीले भने, ‘गोली हान्न लगाउने, गोली हान्ने र गोली हान्न नरोक्ने सबैलाई कारवाही सिफारिस गरेका छौँं, भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेका छौँ ।’
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेश गर्ने बताइन्। उनले भनिन्, ‘आ-आफ्नो क्षेत्रमा तपाईँको प्रख्याति छ। त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ। दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ, अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ। साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ।’
What's Your Reaction?





