तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता २३ जेठमा हुने

 0  26
तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता २३ जेठमा हुने

१७ जेठ, ललितपुर। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता–२०८३ हुने भएको छ।

प्रतियोगिता आगामी २०८३ साल जेठ २३ गते शनिबार ललितपुरको महालक्ष्मीस्थानस्थित साथीको रोदीघर, रिङरोडमा आयोजना गरिनेछ। आयोजकका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा लोक गायनमा रुचि भएका इच्छुक कलाकारहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुन चाहने कलाकारहरूले आयोजक समितिकी अध्यक्ष बेलीमाया पुनलाई मोबाइल नम्बर ९८५१०६९५०३ मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट हुने कलाकारहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

नेपाली लोकसंस्कृति सम्पूर्ण नेपालीहरूको पहिचान र धड्कन भएकाले यस्ता कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्तै खुसी लागेको साथीको रोदीघरका सञ्चालक विकास पन्तले बताए। उनका अनुसार लोकगीत र दोहोरी नेपाली समाज, परम्परा, भाषा, भावनासँग प्रत्यक्ष रूपमा जोडिएको सांस्कृतिक सम्पदा हो।

आयोजकले लोक गायन क्षेत्रका प्रतिभावान कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। यस्ता कार्यक्रमले नयाँ कलाकारहरूलाई मञ्च प्रदान गर्नुका साथै नेपाली लोकसंस्कृति र लोकसंगीतको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow