दशैँका लागि मुस्ताङबाट १३ हजार भेडाच्याङ्ग्रा बजार पठाइँदै

 0  13
दशैँका लागि मुस्ताङबाट १३ हजार भेडाच्याङ्ग्रा बजार पठाइँदै

हरिकृष्ण शर्मा

मुस्ताङ, २२ असोज । यस पटक मुस्ताङबाट विगतमा भन्दा पाँच हजार कम १३ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बजारमा लगिने भएको छ ।बाढीपहिरोका कारण देशभर चाडपर्वमा रौनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सडक सञ्जाल अवरुद्ध तथा हिमाली क्षेत्रमा भारी बर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत वर्षको तुलनामा बिक्री घटेको हो । 

गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा बजार लगिएको थियो । यस पटक हालसम्म १० हजारको स्वास्थ्य परीक्षण गरी पठाइएको छ । जिल्लाभित्र रहेका पशुपालक कृषकले ५ हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन । छिमेकी जिल्ला डोल्पाबाट थप ५ हजार मुस्ताङ हुदैं बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ । 

कार्यालय प्रमुख डा.लालमणी अर्यालले प्राकृतिक विपत्तीका कारण उत्पादन भएका भेडाच्याङ्ग्रा समेत गोठबाट बिक्री गर्न समस्या भएपछि बिक्री घटेको बताउनुभयो । कार्यालय प्रमुख डा.अर्यालले भन्नुभयो, ‘‘डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले विगतमाभन्दा कम भित्रिएको छ, मौसम अनुकुल भएमा तिहारलाई लक्षित गरी बिक्री गर्न सक्छन ।’’

मुस्ताङको कृषकले यस र्ष ७ हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन् । जिल्ला बाहिरबाट भेडाच्याङ्ग्रा खरिद गर्न आउने ब्यापारी सडक अवरुद्ध भएका कारण समेत बिक्रीमा असर भएको छ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१, छोसेरका छिङ्मी गुरूङले च्याङ्ग्रा कृषकलाई यस पटक असहज भएको बताउनुभयो । 

१९ वर्षदेखि च्याङ्ग्रा पालनमा सक्रिय गुरूङले हावापानीमा हुर्किने च्याङ्ग्राका लागि चरन क्षेत्रमा गोठ बनाएर गोठालाको जिम्मा लगाएर बिक्री गर्न हिडेको बताउनुभयो । चरन क्षेत्रमा राखिएका च्याङ्ग्रालाई हिउँचितुवा र ब्याँसोले सताउने गरेको अवस्थामा जोगाएर च्याङ्ग्रापालन गरेको अवस्थामा यस पटक बिक्रीका लागि सदरमुकाम जोमसोमसम्म पुग्नुपर्ने अवस्था आएको कृषकको भनाइ छ । 

मुस्ताङबाट पाँच हजार तथा डोल्पाबाट ५ हजार र कोरला नाकाबाट ३ हजार गरी १३ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । कठोर हावापानीमा हुर्किने र लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गरेको छ ।

गत वर्ष भेडाच्याङ्ग बेचेर ३६ करोड आम्दानी भएको कृषकले जनाएका छन् ।  (गोरखापत्र अनलाइनबाट)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow