माग पूरा नभएको भन्दै स्थानीयवासीले रोके मेलम्ची खानेपानी, वार्ता जारी तर, जुटेन सहमति
काठमाडौं, २४ कात्तिक । पटक पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयहरुले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिदिएका छन् ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, राजनीतिक दल लगायतले विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् । उनीहरुले यसपटक आफ्ना माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी समेत दिएका छन् ।
हेलम्बु र मेलम्चीवासीले विशेषगरी अहिलेसम्म मेलम्ची खानेपानी आयोजना निर्माणमा लागेको खर्च सार्वजनिक गर्न, मेलम्ची क्युल हुँदै आम्बाथान मेलम्ची घ्याङ जाने सडक कालोपत्रे गर्न, मेलम्चीमा आएको बाढीपछि समस्यामा परेका स्थानीयमध्ये बाढीबाटको पीडित छन् को छैनन्, अनुगमन गरेर पीडितलाई न्याय गर्न, मेलम्ची र हेलम्बुका स्थानीयलाई केयुकेल र मेलम्ची आयोजनामा १५ प्रतिशत रोजगारीको कोटा निर्धारण गर्न लगायतका माग गरेका छन।
सरकारले आफूहरुको माग पूरा नगर्दा बेला बेला पानी नै बन्द गर्नुपर्ने रहर नभई बाध्यता भएको बताउँदै यसबाट उपत्यकावासीमा पर्न गएको असुविधा बुझिदिन अनुरोध गरेका छन् । गत वर्षको २०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी सचिव प्रमिलादेवी र स्थानीयको बीचमा १० बुँदे सहमति भएको थियो । त्यो माग पूरा नभएर पानी बन्द गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।
आइतबार खानेपानी मन्त्रालय सिंहदरबारमा खानेपानी सचिव प्रमिलादेवीको संयोजकत्वमा मेलम्ची पीडित संघर्ष समितिको नेतृत्वमा राजनीतिक दल र युवाहरूको उपस्थितिमा यसअघि भएका सहमति कार्यान्वयनको लागि छलफल भएको थियो । प्रधानमन्त्री र अर्थ मन्त्रीसँग थप छलफल गरेर सोमबार बस्ने भन्दै निष्कर्ष बिना नै टुंगिएको आइतबारको उक्त वार्ता आज फेरि बस्ने बताइएको छ ।
What's Your Reaction?





