यसकारण अध्यक्षमा मेरो उम्मेदवारी : विष्णु भक्त बराइली

 0  51
यसकारण अध्यक्षमा मेरो उम्मेदवारी : विष्णु भक्त बराइली

२१ जेठ, काठमाडौँ। आगामी शनिबार हुने नेपाल सुनचाँदी कला व्यवसायी संघको २५ औं साधारण सभा तथा १० औं केन्द्रीय अधिवेशनमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विष्णु भक्त बराइलीले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

यसअघि संघका वर्तमान महासचिव बालकुमार विश्वकर्मा ‘सुमन’ले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै बराइलीले आफू लामो समयदेखि संघको हकहित र नेतृत्व तहमा रहेर काम गर्दै आएको बताए। प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको अवस्थामा अब संघलाई नेतृत्व दिन आफू स्वाभाविक दाबेदार रहेको उनको भनाइ छ।

बराइलीका अनुसार वर्तमान अध्यक्षले आफ्नो कार्यभार हस्तान्तरण गर्ने अवस्थामा संघलाई अनुभवी, सहज र सबै व्यवसायीलाई समेट्न सक्ने नेतृत्व आवश्यक छ। उनले आफू सुनचाँदी क्षेत्रका विभिन्न आन्दोलन तथा व्यावसायिक मुद्दाहरूमा सधैं अग्रपंक्तिमा उभिँदै आएको दाबी गर्दै साना तथा मझौला व्यवसायीहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएको बताए।

लामो समयदेखि सुनचाँदी व्यवसायीहरूको हकहित, व्यवसाय संरक्षण तथा संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका बराइलीले देशभरका सदस्यहरूको समान अधिकार, सरल नेतृत्व र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताएका छन्।

उनले कच्चा पदार्थको समान तथा सहज उपलब्धता, संघको बृहत् विकास, नेपाली कालिगढहरूको संरक्षण, स्वच्छ र पारदर्शी व्यवसाय सञ्चालन, व्यावसायिक चेतनामूलक कार्यक्रम तथा प्रशिक्षण र नीति निर्माणमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

बराइलीले सुनचाँदी व्यवसाय अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूको समस्या समाधानका लागि बलियो र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए। उनले संघलाई सबै सदस्य व्यवसायीहरूको साझा संस्था बनाउने, संगठनलाई थप सक्रिय बनाउने र व्यवसायीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने आफ्नो योजना रहेको बताएका छन्।

अध्यक्ष पदका उम्मेदवार बराइलीले सहज, सरल र जिम्मेवार नेतृत्वमार्फत संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्य महानुभावहरूसँग अमूल्य मतको अपेक्षा गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow