रोल्पामा जातीय छुवाछुतको आरोपमा बालकमाथि कुटपिट, सुनचाँदी मञ्चको कडा आपत्ति

 0  15
रोल्पामा जातीय छुवाछुतको आरोपमा बालकमाथि कुटपिट, सुनचाँदी मञ्चको कडा आपत्ति

काठमाडौं/रोल्पा, १६ बैशाख २०८३

रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–५ मा १० वर्षीय एक बालकमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। स्थानीय भीमबहादुर खत्री लगायतले दलित समुदायका बालक खगेन्द्र विकमाथि जातीय छुवाछुतको आधारमा कुटपिट गरेको आरोप लागेको हो।

प्राप्त विवरणअनुसार, बालक विक घरभित्र प्रवेश गरेको निहुँमा उनलाई अमानवीय रूपमा कुटपिट गरिएको बताइएको छ। घटनामा बालक गम्भीर घाइते भएका छन्।

रोल्पा प्रहरीले घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक रूपमा घटना लुकाउने प्रयास गरिएको भए पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मात्र प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटेको जनाइएको छ।

घटनाप्रति विभिन्न मानवअधिकारकर्मी तथा सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले यस घटनालाई बालअधिकार र मानवअधिकारको गम्भीर उल्लङ्घनका रूपमा लिएका छन्।

यसैबीच, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले पनि उक्त घटनाको कडा विरोध जनाएको छ। मञ्चका महासचिव हेम राईद्वारा जारी विज्ञप्तिमा वर्तमान समयमा पनि जातीय छुवाछुतको आधारमा निर्दोष बालकमाथि यस्तो अमानवीय कुटपिट हुनु अत्यन्तै दुःखद र सभ्य नेपाली समाजका लागि लज्जास्पद विषय भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा दोषीमाथि यथाशीघ्र कडा भन्दा कडा कानुनी सजायको व्यवस्था गर्न माग गरिएको छ। साथै, बारम्बार यस्ता जातीय घटनाहरू दोहोरिनु राष्ट्रकै लागि चिन्ताजनक भएको उल्लेख गर्दै नेपाल सरकारसँग आगामी दिनमा यस्ता घटना नदोहरिने गरी कडा कानुनी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow