सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास बिक्रेता महासंघ
काठमाडौं, ३१ साउन । ग्यास विक्रेता महासंघ नेपालले सरकार समस्या समाधानभन्दा प्रचारबाजीमा केन्द्रीत हुँदा देशभर ग्यासको अभाव देखिएको आरोप लगाएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग समेत गरेको छ । एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दु:ख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’उद्योग र बिक्रीकेन्द्रका नामबाट आफै ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम बिक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास बिक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ। साथै तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्रीकेन्द्र बन्द गरी बिक्रेतामार्फत बिक्रीवितरण सहज गरी उपभोक्तालाई अनाश्यक सास्ती नदिन र वास्तविक समस्या समाधानमा केन्द्रित हुन सरकारसँग जोडदार माग गर्दछौँ।’
महासंघका अनुसार बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख सिलिन्डर छरिएर रहेका कारण पनि अहिलेको अवस्था सिर्जना भएको हो। नयाँ सिलिन्डर बिक्री नरोकिए भविष्यमा ग्यास अभावको समस्या अझ जटिल बन्न सक्ने महासंघले चेतावनी दिएको छ।
What's Your Reaction?





