अनुमति बिना फोटो खिच्न नपाउने व्यवस्था बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ५ साउन । सार्वजनिक स्थानमा अनुमति बिना व्यक्तिको फोटो खिच्न नपाउने कानुन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
सोमबार मुलुकी अपराध संहिताको दफा २९५ ले प्रेस स्वतन्त्रता कुण्ठित बनाएको र संविधानसँग बाझिएको भन्दै अधिवक्ताहरुले रिट दायर गरेका हुन् । उक्त दफामा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ। यसले सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचिन गएमा कसुर भएको नमानिने उल्लेख गरेको छ।
तर, यो व्यवस्था अस्पष्ट र द्विविधा सिर्जना गर्ने खालको भएको रिट निवेदकहरूको तर्क छ। ऐनको दफा २९५ मा अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुने भन्ने व्यवस्था छ ।
‘कसैले कुनै व्यक्तिको अनुमतिविना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन’, उक्त व्यवस्थामा भनिएको छ, ‘तर, कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्वीर खिचिन गएको रहेछ भने यस दफा बमोजिम कसुर गरेको मानिने छैन ।’
अधिवक्ताहरू मोनिका धाख्वा, राजेन्द्र पोख्रेल, ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अभयराज जोशीले दफा २९५ ले मौलिक हकमा अवरोध सिर्जना गर्ने भन्दै त्यसलाई बदर गर्न माग गरेका हुन्।
What's Your Reaction?






