केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत फेला, घटनाको नेपालका विद्यार्थीले गरे विरोध
काठमाडौं, १९ वैशाख २०८४ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत वीरगञ्ज घर भएकी प्रिसा शाह मृत फेला परेकी छन् ।
केआईआईटी कलेजको छात्रावासमा बस्दै आएकी नेपाली छात्रा प्रिसा साह बिहीबार बेलुकी होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिसा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ । अहिले हामीले अनुसन्धान गरिरहेका छौं । घरबाट अभिभावक आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर भनेका छौं,’ कन्सुलर शर्माले भने । उनका अनुसार प्रिसा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।
यता काठमाडौंमा उक्त घटनाको विरोध गर्दै पद्मकन्या कलेजका विद्यार्थीले शुक्रबार बिहान घटनाका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । स्ववियुको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनमा सहभागीले कालो मास्क लगाएर ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड देखाउँदै प्रदर्शन गरेका थिए।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । बिहीबार अर्की नेपाली विद्यार्थी सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।
यसैबीच परराष्ट्रमन्त्री आरजु राणा देउवाले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाले आफू मर्माहत भएको बताएकी छन् । परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ ।’
What's Your Reaction?





