ख्याल ठट्टामा पनि अध्यक्ष हटाउने कुरा नगर्न ओलीको चेतावनी
काठमाडौं, ३१ साउन । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको भन्दै ख्याल ठट्टामा पनि अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने भनेर कतिपयले हस्ताक्षर अभियान नै सुरु गरेको भन्दै रोष प्रकट गरेका छन् । अध्यक्ष ओलीले चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने भन्दै जसले अध्यक्षबाट आफूलाई हटाउने भनिरहेको छ, ऊ पार्टी सदस्य नै छ कि छैन भनेर पनि प्रश्न गरेका छन् ।
अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह समेत गरे।
अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया समोसा खाँदै पार्टी अध्यक्ष हटाउने जस्ता कुरा गर्नु गम्भीर विषय हो। अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो। अहिले विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो। तर पार्टीभित्रै अध्यक्ष हटाउने जस्ता अनावश्यक कुरा उठाउनु उचित होइन। पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ। कुनै पनि संस्था वा संगठनमा काम गर्दा त्यसका नियम, नीति र अनुशासन मान्नुपर्छ। अब यही कुरा दृढतापूर्वक कार्यान्वयन गरिनेछ।’
पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे। सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह गर्दै गर्दै उनले पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिए।
What's Your Reaction?





