टेरामक्स घोटाला प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 0  36
टेरामक्स घोटाला प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा अनियमितता भएको भन्दै १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद मोहन बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

टेरामक्स घोटालामा नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ । 

भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको सांसद् पद स्वतः निलम्बन  भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow