देशलाई कुशासन र भ्रष्टाचारमा डुबाउने मुख्य नेताहरूलाई बिदा नगरी सुधार सम्भव छैन

नेपाली राजनैतिक दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २८ जना युवा नेताहरूले पुरानो, असफल र भ्रष्ट नेतृत्वविरुद्ध खुलेर विरोध गरेका छन्। उनीहरूले पार्टीभित्रको सडेको संरचना फेर्न र जिम्मेवार नेतृत्व स्थापना गर्न तत्काल पुनर्गठनको माग गरेका छन्।
संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले भनेका छन्, राजनीतिलाई निजी सम्पत्ति जस्तै चलाउने, देशलाई कुशासन र भ्रष्टाचारमा डुबाउने मुख्य नेताहरूलाई बिदा नगरी सुधार सम्भव छैन।
जेनजी आन्दोलनलाई जनआक्रोशको स्वाभाविक विस्फोट भन्दै उनीहरूले समर्थन जनाएका छन्। यो विद्रोह आकस्मिक होइन, दशकौँको धोका र दमनको नतिजा हो। जनताको आवाज थिच्नेहरूका लागि अब स्थान छैन, विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई अब ढिला नगरी निर्णायक कदम चाल्न आह्वान पनि गरेका छन्। पार्टी कब्जा गर्ने राजनीतिक सम्भ्रान्तहरूको अन्त्य अब अपरिहार्य छ, उनीहरूको स्पष्ट चेतावनी छ।
What's Your Reaction?






