रारा चाउचाउ गुणस्तरहीन भेटियो, तत्काल बजारबाट फिर्ता गर्न आदेश
काठमाडौं, १४ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेको रारा ब्रान्डको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
विभागले नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको रारा चाउचाउको नमुना प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार गुणस्तर कायम नभएको भेटिएपछि चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन र थप बिक्री वितरणमा पूर्णरूपले रोक लगाउन निर्देशन दिएको हो ।
यस आदेशसँगै खाद्य प्रविधि विभागले उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र कुनै पनि हालतमा बिक्री वितरण नगर्न वा नगराउन सचेत गराएको छ । आम उपभोक्तालाई पनि आफ्नो स्वास्थ्य ध्यानमा राख्दै उक्त उत्पादन मिति र ब्याच नम्बर भएको रारा चाउचाउ खरिद नगर्न र उपभोग नगर्न सूचित गरिएको छ ।
विभागको आदेशअनुसार फिर्ता गर्नुपर्ने उत्पादन कास्कीको पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रा।लि।ले उत्पादन गरेको ६० ग्रामको रारा तयारी चाउचाउ हो। यसको ब्याच नम्बर ‘आरईजी ०१’ र उत्पादन मिति ५ फेब्रुअरी २०२६ रहेको छ।
विभागले आदेश कार्यान्वयन नगर्ने वा नगराउने पक्षलाई प्रचलित खाद्यसम्बन्धी कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
What's Your Reaction?





