विश्वकपपछि फेरि बल्झियो ‘माल्भिनास’ विवाद: अर्जेन्टिनाको ब्यानरले तान्यो विश्वको ध्यान

 0  6
विश्वकपपछि फेरि बल्झियो ‘माल्भिनास’ विवाद: अर्जेन्टिनाको ब्यानरले तान्यो विश्वको ध्यान

३२ असार ,काठमाडौं। इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिना मैदानमा केवल जितको खुसी मनाएर रोकिएन। खेलाडीहरूले प्रदर्शन गरेको एउटा ब्यानरले भने अन्तर्राष्ट्रिय राजनीतिक बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ।

खेलपछि अर्जेन्टिनी खेलाडीहरूले "Las Malvinas Son Argentinas" (लास माल्भिनास अर्जेन्टिनाकै हुन्) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। यो सन्देश दक्षिण एट्लान्टिक महासागरस्थित फकल्याण्ड (अर्जेन्टिनाले माल्भिनास भन्ने) टापुमाथिको अर्जेन्टिनाको दाबी दोहोर्‍याउने प्रतीकका रूपमा हेरिएको छ।

फिफाको रंगशाला आचारसंहिताअनुसार प्रतियोगितास्थलमा राजनीतिक, भेदभावपूर्ण वा विवादास्पद सन्देश भएका ब्यानर, झण्डा वा अन्य सामग्री प्रदर्शन गर्न निषेध गरिएको छ। त्यसैले अर्जेन्टिनाका खेलाडीहरूको उक्त प्रदर्शनले खेलकुदसँगै राजनीतिक बहस पनि चर्काएको छ।

यो विवादको जरो सन् १९८२ को फकल्याण्ड (माल्भिनास) युद्ध मा पुग्छ। टापुको स्वामित्वलाई लिएर भएको युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिक मारिएका थिए। युद्धपछि बेलायतले टापुमाथिको नियन्त्रण कायम राखेको थियो।

हाल पनि फकल्याण्ड टापुका अधिकांश बासिन्दाले आफूहरू बेलायतकै अधीनमा रहन चाहेको मत व्यक्त गर्दै आएका छन्। तर अर्जेन्टिनाले भने सन् १८१६ मा स्वतन्त्र भएपछि ती टापुहरू आफ्नो अधिकारमा आएको र सन् १८३३ मा बेलायतले औपनिवेशिक हस्तक्षेपमार्फत कब्जा गरेको दाबी गर्दै आएको छ।

विश्वकपको मैदानमा देखिएको एउटा ब्यानरले दशकौँ पुरानो भू–राजनीतिक विवादलाई फेरि अन्तर्राष्ट्रिय चर्चाको विषय बनाएको छ। खेल जितसँगै उठेको यो सन्देशले आगामी दिनमा फिफा र सम्बन्धित पक्षहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने चासो पनि बढाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow