शनिबार जावलाखेलमा देखाइँदै ऐतिहासिक मच्छिन्द्रनाथको भोटो, राष्ट्र प्रमुख सहभागी हुने
ललितपुर । नेपालको सबैभन्दा लामो तथा ऐतिहासिक सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्राको मुख्य आकर्षण ‘भोटो देखाउने’ कार्यक्रम शनिबार जावलाखेलमा आयोजना हुँदैछ।
करिब १,६०० वर्ष पुरानो परम्पराअनुसार जावलाखेलस्थित ललित मण्डपमा राष्ट्र प्रमुखको उपस्थितिमा बहुमूल्य भोटो सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ। कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
हरेक वर्ष हजारौँ श्रद्धालु, स्थानीयवासी तथा स्वदेशी–विदेशी पर्यटकहरूको उपस्थितिमा सम्पन्न हुने भोटो जात्रा उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक मानिन्छ। भोटो प्रदर्शनसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा औपचारिक रूपमा समापन हुने परम्परा रहिआएको छ।
किंवदन्तीअनुसार एक किसान र नागराजबीचको विवादसँग जोडिएको भोटो आजसम्म पनि कुनै दाबीदार नभेटिएकाले सर्वसाधारणलाई देखाउने परम्परा कायम रहँदै आएको छ। यही ऐतिहासिक तथा सांस्कृतिक महत्वका कारण भोटो जात्रालाई नेपालको मौलिक सम्पदा र जीवित परम्पराको प्रतीकका रूपमा लिइन्छ।
भोटो देखाउने परम्परा केवल धार्मिक अनुष्ठान मात्र नभई नेपालका विविध सांस्कृतिक मूल्य, सामाजिक एकता र ऐतिहासिक निरन्तरताको महत्वपूर्ण प्रतीकका रूपमा समेत स्थापित छ।
What's Your Reaction?





