कृत्रिम दूधको खेल उजागर : स्वास्थ्यसँग खेलवाड गर्ने सामग्रीसहित दुग्ध उद्योगमा छापा
काठमाडौं, जेठ २५ — उपभोक्ताको स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी दूधमा मिसावट गरेर बजारमा बिक्री–वितरण भइरहेको तथ्य फेला परेको छ। दूधलाई लामो समयसम्म सुरक्षित देखाउने र उत्पादन लागत घटाएर बढी नाफा कमाउने उद्देश्यले केही दुग्ध उद्योगहरूले विभिन्न कृत्रिम पदार्थ प्रयोग गरिरहेको अनुगमनबाट खुलासा भएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मा गरेको अनुगमनका क्रममा दूधमा मिसावट गर्न प्रयोग हुने विभिन्न पदार्थ बरामद गरेको छ।
अनुगमन टोलीले उद्योगको प्रशोधन कक्षबाट ५६ किलो डेक्स्ट्रोज मोनोहाइड्रेट, ९.८६ किलो माल्टोडेक्स्ट्रिन र ३० किलो बेकरी सर्टेनिङ फेला पारेको जनाएको छ। यी सामग्री दूधको गुणस्तर कृत्रिम रूपमा परिवर्तन गर्न प्रयोग गरिएको आशंका गरिएको छ।
यसैबीच, काभ्रेको पनौतीस्थित चिस्यान केन्द्रमार्फत विभिन्न सहकारी र फार्मबाट संकलन गरिएको ३ हजार २० लिटर दूध पनि गुणस्तरहीन र अखाद्य भेटिएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ।
प्रयोगशालामा गरिएको परीक्षणले उक्त दूधमा चिनी मिसाइएको, अस्वाभाविक गन्ध आएको तथा निर्धारित न्यूनतम गुणस्तर मापदण्ड पूरा नगरेको पुष्टि गरेको सम्बन्धित निकायले जनाएको छ।
खाद्य सुरक्षा सम्बन्धी निकायहरूले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्न सक्ने यस्ता गतिविधिमाथि थप अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन्।
उपभोक्ताको विश्वासमाथि गम्भीर आघात पुग्ने यस्ता घटनाले बजारमा उपलब्ध दुग्धजन्य पदार्थको गुणस्तरमाथि पुनः प्रश्न उठाएको छ।
What's Your Reaction?





