गण्डकीमा गाँजा खेतीले पायो वैधानिकता, औषधि र उद्योगका लागि खेती गर्न बाटो खुल्यो
२५ असार, काठमाडौं | गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो औपचारिक रूपमा खुलेको छ। प्रदेश सभाले बिहीबार "औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धी विधेयक" सर्वसम्मत रूपमा पारित गरेपछि गाँजा खेतीले कानुनी मान्यता पाएको हो।
नयाँ व्यवस्थाअनुसार गाँजा खेती गर्न इच्छुक व्यक्ति वा संस्थाले सरकारी निकायमा कम्पनी दर्ता गरी अनुमति लिनुपर्नेछ। जारी गरिएको खेती अनुमति पत्रको अवधि ५ वर्ष रहनेछ। साथै, औषधिजन्य र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै अनुमति तथा दस्तुरको व्यवस्था गरिनेछ।
प्रदेश सरकारले यो निर्णयले औषधि उद्योग, कृषि, रोजगारी, अनुसन्धान तथा स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ। गाँजाको खेती, उत्पादन, प्रशोधन र उपयोगलाई कानुनी दायराभित्र ल्याएर यसको दुरुपयोग रोक्ने र आर्थिक लाभ लिन सकिने अपेक्षा गरिएको छ।
नेपालमा गाँजा खेती लामो समयदेखि प्रतिबन्धित रहे पनि पछिल्ला वर्षहरूमा औषधिजन्य र औद्योगिक प्रयोगका लागि नियमनसहित वैधानिक बनाउने विषयमा बहस हुँदै आएको छ। गण्डकी प्रदेशको यो निर्णयलाई त्यस दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
What's Your Reaction?





