म्यानपावर व्यवसायीको आन्दोलन: आजदेखि देशभरका कार्यालय बन्द
०१ भाद्र ,काठमाडौँ । सरकारले सेवा शुल्क परिमार्जनसहित आफ्ना १५ बुँदे माग सम्बोधन नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले आज (सोमबार)देखि देशभरका म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने भएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार माग सम्बोधनका लागि सरकारसँग पटक–पटक छलफल भए पनि ठोस सहमति हुन नसकेपछि आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको हो। कार्यालय बन्दसँगै म्यानपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया समेत रोक्ने बताएका छन्।
संघका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँग वार्ता र आन्दोलनलाई एकैसाथ अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार मागका विषयमा युवा तथा श्रम रोजगार मन्त्रालयसँग आज थप छलफल हुँदैछ।
गत शुक्रबार मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले आफ्ना माग र धारणा प्रस्तुत गरेका थिए। जवाफमा मन्त्रालयका अधिकारीहरूले मागसँग सम्बन्धित विषयमा मन्त्रालयले अघि बढाइरहेको काम तथा हालसम्मको कार्यप्रगतिबारे जानकारी गराएका थिए।
संघले गत ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरी सरकारसमक्ष १५ बुँदे माग अघि सारेको थियो। तीमध्ये वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई बुझाउने सेवा शुल्क वैज्ञानिक रूपमा निर्धारण गर्नुपर्ने र वैदेशिक रोजगार विभागबाट व्यवसायीमाथि भएका कारबाही फिर्ता लिनुपर्ने माग प्रमुख छन्।
What's Your Reaction?





