लगातार दोस्रो दिन सुन–चाँदीको मूल्यमा गिरावट, दुई दिनमै सुन तोलामा रु ८,८०० सस्तो
११ असार ,काठमाडौं। नेपाली सुनचाँदी बजारमा लगातार दोस्रो दिन पनि सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा सुन–चाँदीको भाउ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु ५ हजार २०० ले घटेर रु २ लाख ७८ हजार ३०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु २५० ले घटेर रु ४ हजार २३५ निर्धारण गरिएको छ।
बुधबार सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदी रु ४ हजार ४८५ मा कारोबार भएको थियो। त्यसभन्दा अघिल्लो दिन मंगलबार सुनको मूल्य रु २ लाख ८७ हजार १०० तथा चाँदी रु ४ हजार ५९० रहेको थियो।
बजार तथ्यांकअनुसार दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला रु ८ हजार ८०० र चाँदी रु ३५५ ले घटेको छ। यसअघि बुधबार मात्रै सुन रु ३ हजार ६०० र चाँदी रु १०५ ले सस्तो भएको थियो।
सुन–चाँदीको मूल्यमा आएको निरन्तर गिरावटले खरिदकर्तालाई केही राहत पुगेको भए पनि लगानीकर्ताले भने बजारको आगामी दिशा नजिकबाट नियालिरहेका छन्। व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्था र अमेरिकी डलरको मूल्यमा हुने परिवर्तनले सुन–चाँदीको मूल्य निर्धारणमा महत्वपूर्ण प्रभाव पार्नेछ।
What's Your Reaction?





