ललितपुरमा सरसफाइ अभियान तथा बाल अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
२७ भदौ, ललितपुर । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ललितपुरमा सरसफाइ अभियान तथा बाल अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी वृत्त सातदोबाटो, ट्राफिक प्रहरी सातदोबाटो, सामुदायिक विकास केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल, ललितपुरको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका–१४, कुसुन्तीबाट शोभाहिटीसम्म सरसफाइ अभियान सञ्चालन गरिएको हो।
सरसफाइ अभियानमा प्रहरी, सामुदायिक प्रहरी, स्थानीय संघसंस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो। अभियानमार्फत सार्वजनिक स्थानको सरसफाइसँगै स्वच्छ तथा सुरक्षित वातावरण निर्माणका लागि समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
यसैगरी, वडा स्तरीय बाल अधिकार समितिको आयोजना तथा सामुदायिक विकास केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको सहकार्यमा अनलाइनबाट हुने बाल यौन दुर्व्यवहार नियन्त्रणसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सम्पन्न भएको छ।
सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा वडा स्तरीय बाल अधिकार समितिका संयोजक संगीता अछामीको संयोजकत्व रहेको थियो। कार्यक्रममा अनलाइन माध्यमबाट बालबालिकामाथि हुन सक्ने यौन दुर्व्यवहार, त्यसबाट बच्ने उपाय, अभिभावक तथा समुदायको भूमिका र बालबालिकाको अनलाइन सुरक्षालगायत विषयमा छलफल गरिएको थियो।
कार्यक्रम तथा अभियानसम्बन्धी जानकारी सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल, ललितपुरकी प्रमुख फूलकुमारी पौडेलले दिएकी हुन्।
सरसफाइ तथा बाल अधिकारसम्बन्धी यस्ता कार्यक्रमले समुदायमा प्रहरी र नागरिकबीचको सहकार्य थप मजबुत बनाउनुका साथै बालबालिकाको सुरक्षा र अधिकार संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
What's Your Reaction?





