स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने

 0  38
स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने

काठमाडौं, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गते बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने घोषणा गरेअनुसार गत मङ्सिर १६ गते निर्देशिका स्वीकृत गरेसँगै मन्त्रालयले फागुन १ गतेबाट एक महिने निःशुल्क गर्ने स्वास्थ्य परीक्षण अघि बढाउने भएको हो । 

देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ ।

गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।

 ‘‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजनाअन्तर्गत अभियान थालिएको हो,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow