कुनै पनि कारणले विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था विधेयकमा लेखौँ : सुमना श्रेष्ठ
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले कुनै पनि कारणले विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छन् ।
सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सुमनाले कसैले पनि विद्यालय, विश्वविद्यालयमा तालाबन्दी गर्न, बन्द गर्न नपाउने कुरा विधेयक मै लेखिनुपर्नेमा जोड दिएकी हुन् ।
उनले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर विधेयकमा लेखिए झै निजी विद्यालयका लागि पनि यो कुरा विधेयकमै लेखिनुपर्ने बताइन् ।
तोकेबमोजिम अनिवार्य निःशुल्क शिक्षा सबैले पाउनुपर्ने बताउँदै सासंद् सुमनाले भने, ‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भए पनि । त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौँ । तर, हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरु कुनै पनि बहानामा बन्द गरिनुहुँदैन।’
What's Your Reaction?





