नेपाल संवत् ११४६ विविध कार्यक्रम गरी मनाइँदै (तस्विरसहित)
काठमाडौं, ५ कात्तिक । आज नेवार समुदायले नेपाल संवत् ११४६ विविध कार्यक्रम आयोजना गरी मनाउदैं छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ. सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका हुन्।
वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ। वि.सं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार, ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’
What's Your Reaction?





