माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले बिहीबार विशेष अदालतमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद् पद स्वतः निलम्बनमा परेको छ ।
२०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्री भएका नेपालविरूद्ध अख्तियारले इतिहासमै पहिलो पटक भ्रष्टाचार मुद्दा चलाएको छ। उनी यस्तो मुद्दा खेप्ने हालसम्मकै सर्वोच्च पदाधिकारी बनेका छन्।
What's Your Reaction?





