बागमती र राजधानी प्रदेशका रिटर्नीको संयुक्त भेला श्रावण १६ गते च्यासलमा
१२ असार, काठमाडौं — रिटर्नी फेडेरेसन नेपालले बागमती प्रदेश र राजधानी प्रदेशका वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरूको संयुक्त भेला आयोजना गर्ने भएको छ।
फेडेरेसनका अनुसार भेला २०८३ श्रावण १६ गते, शनिबार, मध्यान्ह १२:०० बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना हुनेछ।
भेलामा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई एकै स्थानमा भेला गरी उनीहरूको अनुभव, सीप, पुँजी तथा सम्भावनालाई देशको समृद्धि र विकासमा उपयोग गर्ने विषयमा छलफल गरिने जनाइएको छ।
फेडेरेसनले विदेशमा आर्जन गरेको सीप, अनुभव र श्रमलाई अब आफ्नै देशको विकासमा प्रयोग गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरेको छ। साथै, भेलामा सहभागी भई आफ्ना सुझाव, अनुभव र योगदानमार्फत संगठनलाई थप सुदृढ बनाउन सम्पूर्ण रिटर्नी नेपालीहरूलाई अनुरोध गरिएको छ।
रिटर्नी फेडेरेसन नेपालका प्रचार विभाग प्रमुख बिन्दु घिमिरेका अनुसार, उक्त भेलामा बागमती र राजधानी प्रदेशका वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
What's Your Reaction?





