रास्वपालाई लक्षित गर्दै ओलीले भने, ‘मान्छेहरूले प्रधानमन्त्री बनाइसके, हामी चुनाव पर्खिरहेका छौँ’
काठमाडौं, १५ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीच भएको राजनीतिक सहकार्यलाई ‘दुब्लाहरुको गठजोड’ भन्दै टिप्पणी गरेका छन् ।
ओलीले एमालेजस्तो बलियो पार्टीसँग प्रतिस्पर्धा गर्न नसकेपछि कमजोर शक्तिहरूले सहकार्य गर्नु परेको भन्दै रवि लामिछाने र बालेन साहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति व्यंग्य गरेका हुन् । मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विशेषगरि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गरेका हुन्।
फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनावका लागि रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ। उनले को लोकप्रिय छ भन्ने निर्णय आगामी निर्वाचनबाट हुने स्पष्ट पार्दै लोकतन्त्र कहिल्यै पराजित नहुने र आगामी चुनावमा एमालेको विजय सुनिश्चित भएको जिकिर गरे।
‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला या अर्को मंसिरमा होला।’
What's Your Reaction?





